काठमाडौं । कीर्तिमानी क्रिकेटर मेहबुब आलमले नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रतियोगितामा सहभागी एक बलर र एक ब्याटरलाई मेहबुबले प्रति खेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पाइएको हो ।
प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ । ‘६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो,’ अडियोमा मेहबुबले नाम नखुलेका खेलाडीसँग भनेका छन् । मेहबुबले प्रस्ताव गरेका दुई खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।
नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए । स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नताको तथ्य भेटिएपछि प्रहरीले मेहबुबलाई सोमबार विराटनगरबाट पक्राउ गरेको थियो ।