काठमाडौँ – साउथ हेम्प्टनलाई हराउँदै न्यु क्यासल युनाइटेड २४ वर्षपछि लिग कपको फाइनलमा पुगेको छ। न्यु क्यासल सन् १९९९ पछि पहिलोपटक ठूलो उपाधिका लागि फाइनलमा स्थान पक्का गरेको हो। मंगलबार राति सेन्ट जेम्स पार्कमा भएको ईएफल कप सेमिफाइनलको दोस्रो लेगमा साउथ हेम्प्टनलाई २–१ गोल अन्तरले हराउँदै न्यु क्यासल २४ वर्षपछि कपको फाइनलमा पुगेको हो।
न्युक्यासलले समग्रमा ३–१ गोलको नतिजा निकालेको हो। न्यु क्यासलले सेमिफाइनलको पहिलो लेगमा साउथ हेम्प्टनलाई १–० ले हराएको थियो। न्यु क्यासलले अब उपाधिका लागि म्यानेचस्टर युनाइटेड वा नटिङघम फरेस्टसँग वेम्बेलीमा खेल्नेछ। न्यु क्यासल सन् १९६९ को इन्टर सिटिज फेयर्स कपपछि पहिलोपटक प्रमुख उपाधि जित्ने प्रयासमा हुनेछ।
साउथ हेम्प्टनलाई हराउने क्रममा न्यु क्यासलले सुरुवातमै अग्रता लिएको थियो। खेलको पाँचौँ मिनेटमै सियोन लङस्टाफको गोलमा क्यासलले सुरुवात अग्रता बनाएको थियो। २१औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।
२९औँ मिनेटमा आडमले गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए पनि जितका लागि पर्याप्त भएन। न्यु क्यासल खेलको ८२औँ मिनेटमा १० खेलाडीमा सीमित बनेकोा थियो। ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमारेस रातो कार्ड खाँदै मैदान छाडे।