काठमाडौं, १९ माघ – नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए ।
नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ । ‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो ।
अब उसँगको सम्झौता कायम राख्ने नराख्नेबारे निर्णयको अधिकार पुनः साधारणसभालाई नै दिने बोर्डले निर्णय गरेको छ,’ कोषाध्यक्ष सिंहले भने । नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरिसकेको छ ।