काठमाडौँ, २३ माघ – पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा रियल मड्रिडले स्पेनिस ला लिगामा हार व्यहारेको छ। ला लिगाको दोस्रो स्थानमा रहेको रियल दशौँ स्थानको मालोर्कासँग पराजित भएको हो। हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने मौका गुमाएको छ।
रियलले २० खेलबाट ४५ अंक बनाएको छ। समान खेलबाट बार्सिलोनाले ५३ अंक जोडेको छ। मालोर्काले खेलको पहिलोे हाफमा उपहार गोलमा अग्रता बनाएको थियो। खेलको १३ औं मिनेटमा भेदाट मुरिकीको हेडर नाचोलाई लाग्दै गोलमा परिणत भएपछि रियल १–० ले पछि परेको थियो।
खेलको ६० औँ मिनेटमा रियलका मिडफिल्डर मार्को एसेन्सियोले पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा खेलमा फर्कने सुन्दर मौका गुमाउन पुुग्यो। मालोर्काले सन् २०१९ पछि रियललाई पराजित गरेको हो। २०१९ पछि यी दुई टोलीबाट १४ पटक भेट भएको थियो।