काठमाडौँ, २३ माघ – ‘चौथो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०७९’ प्रतियोगितामा आयोजक टिम श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम भएको छ। उपत्यका भित्र र बाहिरका विभिन्न जिल्लाका विद्यालय तथा डोजाङका खेलाडीहरूको सहभागिता रहेको जम्मा ३२ वटा टिमहरूमध्ये ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरी आयोजक टिम च्याम्पिएन भएको हो।
यस्तै, ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरी लैनचौर तेक्वान्दो डोजाङ टिम द्वितीय भएको छ भने ३ स्वर्ण र १ कास्य पदक प्राप्त गरी विश्व निकेतन स्कुल, त्रिपुरेश्वर टिम तृतीय हुन सफल भयो। विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा दीपिका गुरुङ जुनियर तर्फको उत्कृष्ट खेलाडी र विश्व निकेतन स्कुल, त्रिपुरेश्वरकी मनिषा तामाङ सिनियर तर्फको उत्कृष्ट खेलाडी घोषित भए।
कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले महाविद्यालयको वार्षिक मुखपत्र ‘आशाकिरण’ को नवौं अङ्क विमोचन समेत गरे।