काठमाडौं, २५ माघ – सर्लाहीको बागमती नगरपालिकाले फुटबल प्रतियोगिता उद्घाटनको अवसरमा आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। बागमती युवा क्लवको आयोजनामा आजदेखि बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको आज दिउँसो उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको बागमती युवा क्लवका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए।

फुटबल प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउने उद्देश्यले आज नगरपालिका, वडा कार्यालय, नगर क्षेत्रका शैक्षिक संस्थासहित नगरपालिका मातहतका सम्पूर्ण कार्यालयमा बिदा दिइएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले जानकारी दिए। आज हुने प्रतियोगिताको उद्घाटन खेल जाउलाखेल यूथ क्लव र सशस्त्र प्रहरी बल (एपीएफ) बीच हुँदैछ। प्रतियोगितामा आयोजक बागमती युवा क्लवसहित एक विदेशीसमेत १२ वटा क्लवको सहभागिता छ।

अध्यक्ष मैनालीका अनुसार प्रतियोगितामा बागमती युवा क्लवसँगै यूनाइटेड किंगडम फुटवल क्लव दार्जेलिङ, संकटा क्लव, नेपाल पुलिस क्लव, एपीएफ क्लव, जावलाखेल यूथ क्लव, चर्च व्वाइज यूनाइटेड, सुदूरपश्चिम–११, मच्छिन्द्र फूटवल क्लव, धरान यूवा क्लव, जन–जागृति युवा क्लव सीमरा र प्रतियोगिताको साबिक बिजेता पिप्ले यूथ क्लव हेटौँडा सहभागि हुँदैछन्।

झण्डै एक करोड रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ। यस्तै, उपबिजेताले पाँच लाख रुपैयाँ र ट्रफी हात पार्ने छ भने हरेक विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए।

By ekhel