एसियन क्रस कन्ट्री च्याम्पियनसिपको पहिलो चरणको खेलाडी छनोट फागुन ९ गते हुने

Byekhel

२६ माघ २०७९, बिहीबार २६ माघ २०७९, बिहीबार २६ माघ २०७९, बिहीबार

काठमाडौं – नेपालमा आगामी महिना आयोजना हुने एथ्लेटिक्स अन्तर्गत एसियन क्रस कन्ट्री च्याम्पियनसिपको पहिलो चरणको खेलाडी छनोट फागुन ९ गते हुने भएको छ । एसिया एथ्लेटिक्स संघको कार्यक्रम अनुसार एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपाल एथ्लेटिक्स संघको आयोजनामा आगामी फागुन २४ गते नेपालमै आयोजना हुँदैछ ।

च्याम्पियनसिपमा व्यक्तिगत र टिमतर्फ प्रतिस्पर्धा हुनेछ । जसमा सिनियरतर्फ १० किमी पुरुष र महिलातर्फ प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियरतर्फ यू-२० पुरुषको ८ किमी र यू-२० महिलामा ६ किमीमा प्रतिस्पर्धा गराइनेछ । नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले घरेलु भूमिमा हुन लागेको यस च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्र क्याम्पमा राख्ने बताए ।

उनले भने, ‘खेलाडीहरु छनोट गरेर क्याम्पमा राख्नेछौं । हामी आयोजक भएकोले हरेक इभेन्टमा ५-५ खेलाडी छनोट गर्नेछौँ । नेपालमै हुन लागेकोले खेलाडीको लागि यो राम्रो अवसर हो । हामीले आयोजक भएकोले ५ खेलाडी राख्न लागेका छौं ।’ अन्य देशबाट भने एक इभेन्टमा ३ खेलाडी सहभागी हुने विष्टले जानकारी दिए । च्याम्पियनसिपमा करिब चार सय खेलाडी सहभागी हुने उनले जानकारी दिए ।

काठमाडौंको गोकर्णमा आयोजना हुने क्रस कन्ट्री च्याम्पियनसिपका लागि नेपाल एथ्लेटिक्स संघले तयारी थालेको हो । क्रस कन्ट्रीमा उकालो, ओरालो, सम्म स्थानमा दौडनुपर्छ । जसले गर्दा यो फरक हुन्छ । गोकर्णमा २ किमीको कोर्स रहेको र त्यसमै प्रतिस्पर्धा गराइने विष्टले बताए । यसअघि सन् २००१ मा नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप आयोजना भएको थियो ।

By ekhel