विराटनगर – आगामी चैत दोस्रो साता सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि विराटनगरको सहिद रंगशाला मर्मतको काम भइरहेको छ। मैदानमा पानी हाल्ने, लेभलिङ र प्यारापिटको काम भइरहेको छ।
प्रतियोगितामा यो पटक पुरस्कार रकम बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी निर्देशक सुवाशीश कोइरालाले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।
राति फल्ड लाइटमा हुने प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन हुँदै छ। प्रतियोगितामा घरेलु टोली विराटनगर सिटी एफसीसहित ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा अहिलेसम्म संकटा क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारको सहभागिता पक्का भइसकेको छ। प्रतियोगितामा यो पटक २ वटा विदेशी टोली टोली सहभागी हुने इभेन्ट म्यानेजर सरोज लम्सालले जानकारी दिए। विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ।