काठमाडौँ – सातौँ राजर्षि कनक कप फुटबल प्रतियोगिता अन्तर्गत सर्लाहीको बागमतीमा शुक्रबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लव जनजाग्रिती यूवा क्लव सिमरासँग पराजित भएको छ। बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा भएको खेलमा सडन डेथमा नेपाल पुलिस क्लवलाई ६–५ गोल अन्तरले पराजित गर्दै नव जनजाग्रिती यूवा क्लव प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो।
खेलको निर्धारित ९० मिनेट र थप २० मिनेटको समयमासमेत कुनै गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो। ट्राईब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निकालिएको हो। सडन डेथमा नेपाल पुलिसका अजित भण्डारीले गोल गर्न नसक्दा नव जागृति विजयी भएको हो।
भण्डारीले प्रहार गरेको पेनाल्टि नव जागृति युवा क्लवका गोल रक्षक रोहन मगरले रोकेका थिए भने नव जनजागृतिका अस्मित चौधरीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो। सडन डेथमा टिमका लागि नायक सावित भएका नव जनगागृतिका गोल रक्षक रोहन मगर म्यान अफ दि म्याच घोषित भएका छन्।
यो जित सँगै नव जनजागृति यूवा क्लव सिमरा क्वाटर फाइनलमा प्रवेश गरेको छ। आगामी फागुण २ गते हुने क्वाटर फाइनल खेलमा नव जनजागृति युवा क्लव संकटा फुटबल क्लवसँग भिड्ने पक्का भएको छ। आजको खेलमा नेपाल पुलिस क्लव पूर्व राष्ट्रिय खेलाडिसहित मैदानमा उत्रिएको थियो।
यसअघि बिहीबार भएको खेलमा भारतको युनाइटेड खर्साङ क्लब दार्जिनिङ सुदूरपश्चिम–११ धनगढीसँग पराजित बनेको थियो। बागमती युवा क्लव र बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।