काठमाडौं, ५ फागुन – भारतले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको टी–ट्वान्टी अन्तर्गत बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले हराएको हो ।न्युल्यान्ड क्रिकेट मैदानमा वेस्ट इण्डिजले दिएको ११९ रनको लक्ष्य भारतले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि रिचा घोषले अविजित ४४ रनको योगदान गरिन् । त्यस्तै कप्तान हर्मनप्रित कौरले ३३ रन बनाउँदा शफाली बर्मा २८ रनको योगदान गरिन् । वेस्ट ईण्डिजका लागि करिष्मा रामहाराक्कीले दुई विकेट लिइन् । त्यस्तै हाईली म्याथ्यु र चाईनिलि हेनरीले समान एक÷एक विकेट लिईन् ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि स्टेफानी टेलरले ४२ रनको योगदान गरिन् । त्यस्तै शेमानी च्याम्पबेलले ३० रन बनाउँदा चिडियन नेशनले अविजित २१ रन बनाइन् ।
भारतका लागि दिप्ती शर्माले तीन विकेट लिइन् । त्यस्तै पुजा भास्कर र रेनुका सिंहले समान एक/एक विकेट लिइन् । जितसँगै भारत समूह ‘बी’ मा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । वेस्ट ईण्डिज २ खेलमा अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा छ ।