लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालको नामिबियामाथि लगातार दोस्रो जित

Byekhel

६ फाल्गुन २०७९, शनिबार ६ फाल्गुन २०७९, शनिबार ६ फाल्गुन २०७९, शनिबार

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नामिबियाको यो लगतार तेस्रो हार हो ।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।

ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन्। ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।

कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६२ रनको अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो । ९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे ।

पूर्व कप्तान मल्ल तथा ओपनर शेखबीचको यस साझेदारी नेपालको एकदिवसीय अन्तराष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो। मल्ल र शेखबीच दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।

यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो ।

कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । सोमपाल कामी ८ रनमा अविजित रहदा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले १/१ रन जोडे । सन्दीप जोराले ३ रन जोड्दा गुलशन झा सुन्य रनमा अविजित रहे ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।

नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए ।

लो-हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।

नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

By ekhel