काठमाडौं – १० खेलाडीमा सीमित बनेको साबिक विजेता बायर्न म्युनिख बोरुसिया मोचेनग्लाडबाचसँग पराजित भएको छ । खेलको सुरुवातमा नै डिफेन्डर डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न २–३ गोलले पराजित भयो । बायर्न १० खेलाडीमा सीमित भएलगत्तै लार्स स्टिन्डलले ग्लाडबाचलाई अग्रता दिलाए ।
एरिक म्याक्सिम चुपो मोटिङल पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे पनि जोनास हफम्यान र मार्कस थुरामले ग्लाडब्याचको अग्रता फराकिलो बनाए । माथेस टेलले खेलको अन्त्यतिर बायर्नका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
लगातार ११ औँ बुन्डेस लिगाको उपाधि जित्ने होडमा रहेको बायर्नले ग्लाडबाचविरुद्ध पछिल्ला ५ खेलमा हार बेहोरेको छ । हारपछि युनियन बर्लिन र बोरुसिया डर्टमण्डलाई बायर्नलाई उछिन्ने अवसर मिलेको छ । २१ खेलबाट बायर्न ४३ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । एक खेल कम खेलेको बर्लिन ४२ र डर्टमण्ड ४० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।