बुढासुब्बा गोल्डकपःधरान युनाइटेड खार्साङसँग टाइब्रेकरमा पराजित

Byekhel

१४ फाल्गुन २०७९, आईतवार १४ फाल्गुन २०७९, आईतवार १४ फाल्गुन २०७९, आईतवार

धरान – २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरिएको छ । प्रतिस्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित भयो । २२ औं संस्करणमा पनि खार्साङसँग टाइब्रेकरमा नै धरान पराजित भएको थियो ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेपछि धरान पराजित भएको थियो । खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरे । धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरे ।

खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैया पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो ।

जितसँगै खार्साङ सेमिफाइनलमा प्रवेश गरेको छ । भोलीको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । यही फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २० गतेसम्म धरान रंगशालामा चल्ने छ ।

प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

By ekhel