काठमाडौं – अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । केपटाउनमा आइतबार भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।लगातार सातौं संस्करणको फाइनल खेलेको अष्ट्रेलियाले छैटौं पटक उपाधि जित्ने क्रममा दोस्रो पटक उपाधिमा ह्याट्रिक गर्यो ।
सन् २००९ को पहिलो संस्करणमा फाइनल पुग्न नसकेको अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा लगातार जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो । २०१६ को फाइनलमा भने अष्ट्रेलिया वेष्ट इन्डिजसँग पराजित भयो । त्यसपछि २०१८, २०२० र २०२३ मा उपाधि जित्दै अष्ट्रेलियाले फेरि ह्याट्रिक गरेको हो ।
पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको दक्षिण अफ्रिका भने घरेलु मैदानमै पराजित रह्यो । अष्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर लोरा वालभाल्टले सर्वाधिक ६१ रन बनाइन् ।
उनले ४८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरिन् । क्लोए ट्रायोनले २५ रन बनाइन् । अष्ट्रेलियाका लागि मेगन सुट, एश गार्डनर, डार्सी ब्राउन र जीस जोनासेनले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ओपनर बेथ मुन्नीको ७४ रन मद्दतमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
एक छेउबाट विकेट गएपछि अर्को छेउ सम्हालेकी मुनीले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा अविजित ७४ रन बनाइन् । एश गार्डनरले २९ र एलिसा हिलीले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि शबनिम स्माइल र मरिजान कापले २÷२ विकेट लिए ।
फाइनलमा अलराउण्ड प्रदर्शन गरेकी अष्ट्रेलियाकी एश गार्डर प्लेअर अफ दि सिरिज घोषित भइन् । उनले ११० रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहिन् । इंग्ल्याण्डका सोफी एस्सेलोटनले सर्वाधिक ११ विकेट लिएकी थिइन् ।