काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटका लागि प्रारम्भिक महिला टोलीको घोषणा गरेको छ। महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
सन् २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूहको खेल घरेलु मैदानमा हुँदै छ। बन्द प्रशिक्षण फागुन १९ गतेदेखि एन्फा कम्प्लेक्समा हुनेछ। नेपाल रहेको समूह सी मा अफगानिस्तान र भियतनाम छन्।
अफगानिस्तानले ५ अप्रिलमा भियतनामसँग खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल ८ अप्रिलमा अफगानिस्तानसँग खेल्नेछ। दोस्रो खेल ११ अप्रिलमा भियतनामसँग खेल्ने तालिका छ। छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।