काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग आज (शुक्रबार) सुरु हुँदै छ। उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र अनुभवी फ्रेन्ड्स क्लब भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।ए डिभिजन लिगमा डेब्यु गर्न लागेको खुमलटार युवा क्लबले आफ्नो नाम परिवर्तन गर्दै एफसी खुमलटार राखेको छ।
अनुभवी फ्रेन्ड्स र नवप्रवेशी खुमलटार दुवै टोली पहिलो खेल जितेर ए डिभिजन लिग यात्रा सुरु गर्न चाहन्छन्। लिगका लागि करिब दुई महिनादेखि प्रशिक्षण गरेको खुमलटार युवा खेलाडीले भरिएको छ। छोटो समयको तयारी भए पनि आफूहरु उपाधिका लागि नै आएको एफसी खुमलटार प्रबन्ध निर्देशक विदुर श्रेष्ठले बताए।
उनले भने, ‘हामी भर्खर आएपनि हामी उपाधिका लागि नै आएका हौँ। नेपालमा बी डिभिजन खेल्दा सानो बजेटमा खेल्न सकिन्थ्यो। त्यहाँ प्यासन मात्र भएर हुन्थ्यो जस्तो लाग्छ। तर ए डिभिजनमा धेरै पैसा खर्च हुने रहेछ। तरपनि हामीले तयारीमा कुनै कमी राखेका छैनौँ। खेलाडीलाई राम्रो वातावरण दिएका छौँ। लगानी अनुसारको उपलब्धी पाउछौँ भन्ने आशा गरेको छौँ।’
टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकाले आफुहरुसँग भएका सबै खेलाडी फिट रहेको श्रेष्ठले बताए। उनले थपे, ‘हामीसँग घाइते खेलाडी छैनन्। त्यसैले राम्रो खेल्न सक्छौँ जस्तो लाग्छ।’ टोलीका कप्तान रेजिन सुब्बाले आफुहरुको टोलीमा युवा खेलाडीह रहेकाले राम्रो सुरुवात गर्ने विश्वास गरेका छन्।
यता फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले अनुभवी खेलाडीले आफ्नो टोली भरिएकाले लिगमा राम्रो सुरुवात गर्ने आशा राखेका छन्। लिगको तयारीका लागि क्लबले दुईै नकआउट प्रतियोगिता खेलेको थियो। आज हुने उद्घाटन खेलका लागि आफ्ना सबै खेलाडी फिट भएको प्रशिक्षक श्रेष्ठले बताए।
उनले भने, ‘केही अनुभवी खेलाडी भएका कारण पनि राम्रो सुरुवात गर्ने आशा छ। यो पटक हामी सबैमा जोश छ। पहिलाको कमी कमजोरी नहोस् भनेर तयारी गरेका छौँ। नेपाली लिगमा विदेशी खेलाडी हुँदा फरक पर्छ। विदेशी खेलाडीको प्रर्दशनको आधारमा पनि कहाँ रहने भन्ने टुङ्गो लग्छ।
आजको खेलले नै आगामी यात्राको निर्धारण गर्दछ। अनुभवी खेलाडीको अनुभवले पनि काम गर्नेछ। युवा खेलाडी भएको भए पहिलो खेल खेल्न केही गाह्रो हुन्थ्यो होला युवा खेलाडीले राम्रो होला।’ फ्रेन्ड्स क्लब शिर्ष ६ मा रहने लक्ष्यका साथ लिग यात्रा सुरु गर्दै छ।