काठमाडौँ – एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कास्य पदक जितेको छ।
गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको च्याम्पियनसिपमा नेपालले कास्य पदक पाएको हो। च्याम्पियनसिपमा भारतले स्वर्ण र इरानले रजत पदक जितेको छ।
नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक पक्का गरे। योसँगै नेपालले च्याम्पियनसिपमा अहिलेसम्म ३ पदक जितिसकेको छ।
भारतले १ घन्टा २५ मिनेट ४० सेकेन्ड मा दुरी पार गर्दै स्वर्ण पदक र इरानले १ घन्टा २६ मिनेट ५६ सेकेन्डमा दौड पार गर्दै रजत पदक जिते। ८ किलोमिटरको जुनियर पुरुषको व्यक्तिगत स्पर्धामा इरानले स्वर्ण, भारतले रजत र इरानले नै कास्य पदक जिते।
इरानका समिर इन्जाबिलघायजीले २७ मिनेट ३८ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जिते। भारतका शिवजी परशुरामले २७ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत र इरान कै पौरिया यशाघिन्हदले २८ मिनेट ०२ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जिते। यसअघि भएको महिला जुनियर ६ किलोमिटर दौडमा नेपालले दुई रजत पदक जितेको थियो।