काठमाडौं – उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । लिगमा पहिलो खेल जित्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा संकटा क्लबलाई १-० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दाभ्लातजोनोभको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
उनले खेलको ५१ औं मिनेटमा गोल गरे । संकटाले त्यसपछि पनि खेलमा बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । पहिलो खेलमा अग्रता लिएर पनि हिमालयन शेर्पासँग बराबरि खेल्दै अंक बाँडेको मनाङले यो जितपछि दुई खेलबाट ४ अंक जोडेको छ । संकटाले भने दुई खेल खेल्दा अझै गोल गर्न सकेको छैन भने १ अंक मात्र जोडेको छ । संकटा पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरिमा रोकिएको थियो ।