काठमाडौँ – नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ । नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरिन् । सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् ।
नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो । यस जितसँगै समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । र, नेपाल अपराजित रहदै शीर्ष स्थानमा रहदै दोस्रो चरणमा पुगेको हो ।
छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो । नर्दन मारियानाको यो लगातार दोस्रो हार हो । नर्दनलाई पहिलो खेलमा प्यालेस्टाइनले ३-१ ले हराएको थियो । नर्दन अंक विहीन रहदै र प्यालेस्टाइन ३ अंक जोडेर पहिलो चरणबाट बाहिरिएको छ ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।