काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको वैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।
‘हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मुख्यमन्त्री लिला गिरीको प्रस्ताव अनुसार मन्त्रिपरिषद वैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो’– प्रवक्ता आचार्यले भने–‘ जुनियर टिमका ५ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको छ ।’ सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल,कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही,सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् ।