काठमाडौं – दुई पटकको वानडे विश्वकप क्रिकेट विजेता वेष्ट इन्डिजले यसै वर्ष भारतमा हुने वान डे विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ । आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो ।
दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो । सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्नुपर्ने भएको हो ।
२०१८ मा जिम्बावेमै भएको छनोटमा शीर्ष दुईमा रहेर वेष्ट इन्डिज २०१९ को विश्वकपमा छनोट भएको थियो । सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।
अर्को पूर्वविजेता श्रीलंकाले पनि छनोट खेल्ने पक्का भइसकेको छ । नेदरल्याण्ड्सलाई हराएपछि दक्षिण अफ्रिकाको ९८ अंक भएको छ र सुपर लिगको आठौं स्थानमा उक्लेको छ । आयरल्याण्डको ६८ अंक छ र बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । आयरल्याण्ड एक खेलमा पराजित भएमा दक्षिण अफ्रिका शीर्ष आठमा रहँदै सिधै विश्वकपमा छनोट हुनेछ ।
अब बंगलादेश र आयरल्याण्डबीच हुने सिरिजपछि मात्र सिधै विश्वकप खेल्ने थप एक टोलीको टुङ्गो लाग्नेछ । सुपर लिगका १३ टिममध्ये शीर्ष ८ टिमले सिधै विश्वकप खेल्नेछन् भने पुछारमा रहने पाँच टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । त्यसमा वेष्ट इन्डिजसँगै, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।
विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ । जसमा चार टेष्ट राष्ट्र हुने पक्का छ । विश्वकप छनोटमा कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ ।
विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टिम, आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिम गरी कुल १० टिमले खेल्नेछन् । लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेको छ ।
हाल नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ । लिग टु को पुछारमा रहेका चार टिम नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।
विश्वकप छनोटमा चार टेष्ट राष्ट्रले पनि खेल्ने भएकोले नेपालजस्तो एसोसिएट राष्ट्रका लागि ठुला टिमसँग खेल्ने यो राम्रो अवसर हुनेछ । चार टेष्टसहित बाँकी ६ एसोसिएट राष्ट्रले विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी हुने १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसले गर्दा दुवै समूहमा दुई-दुई टेष्ट राष्ट्र हुनेछन् । छनोट खेल्ने सबै टिमको टुङ्गो लागेपछि आईसीसीले समूह विभाजन गर्नेछ । त्यसपछि कुन टिमले कोसँग खेल्ने थाहा हुनेछ ।