काठमाडौं – प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् । माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभरटनले टोटनहमसँग अंक खोसेको थियो । त्यसअघि ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।
तर अन्तिम समयमा गोल खाँदा जित नजिक पुगेर पनि अंक बाँड्नुपर्यो । दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए । खेलको ५८औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियो । टोटनहमका लुकास माउराले पनि ८८औं मिनेटमा रातो कार्ड पाएका थिए ।
बराबरीपछि टोटनहमले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । टोटनहमले २९ खेलबाट न्युकासल र म्यानचेष्टर युनाइटेड समान ५० अंक जोडेको छ । गोल अन्तरमा न्युकासलभन्दा पछि रहँदै टोटनहम चौथो स्थानमा छ । एभरटन २९ खेलबाट २७ अंक जोडेर १५औं स्थानमा उक्लेको छ ।