ओलम्पिक महिला फुटबल छनोट खेल्न काठमाडौं आइपुग्यो भियातनाम

Byekhel

२१ चैत्र २०७९, मंगलवार २१ चैत्र २०७९, मंगलवार २१ चैत्र २०७९, मंगलवार

काठमाडौं – सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियातनाम महिला टिम सोमबार काठमाडौं आइपुगेको छ । भियातनाम र नेपालले २२ चैत र २५ चैतमा दुई खेल खेल्नेछन् । यो खेलको विजेता ओलम्पिकका लागि एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

नेपाल र भियातनाम एसिया छनोटको पहिलो चरणमा समूह सीमा छन् । यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर, दुवै टिमले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियातनामबीच दुई खेलले नतिजा छिनोफानो हुने भएको हो ।

फिफा विश्व वरीयतामा ३६ र एसियाली बरीयतामा छैटौं स्थानमा रहेको भियातनाम नेपालको तुलनामा धेरै बलियो टिम हो । नौपल्ट एसियन कप खेलिसकेको भियातनाम आउने जुलाइमा अस्ट्रेलिया र न्युजिल्याण्डमा हुन लागेको फिफा महिला विश्वकपमा छनोट भएको छ । यो प्रतियोगिताका लागि नेपाल टिम एक महिनादेखि प्रशिक्षणरत छ ।

अनन्तराज थापाले गत शुक्रबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय टिम घोषणा गरेका छन् । नेपालले घरेलु मैदान र समर्थकबीच भियातनामविरुद्ध शशक्त प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।

By ekhel