काठमाडौँ – अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटमा नेपालले आज भियतनामसँग खेल्दैछ । पहिलो पटक महिला विश्वकप फुटबल खेल्ने तयारीमा रहेको भियतनामविरुद्ध घरेलु मैदानमा उत्रँदा नेपाली महिला फुटबलको लागि यो इतिहासकै चुनौतीपूर्ण खेल हुनेछ । नेपाल र भियतनामबीच खेल साँझ ट बजे दशरथ रंगशालमा सुरु हुनेछ ।
फिफा वरीयतामा नेपालभन्दा ६७ स्थानमा माथि रहेको भियतनामविरुद्ध घरेलु मैदानको साथ र घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । वरीयतामा भियतनाम ३३औं स्थानमा छ भने नेपाल १००औं स्थानमा छ ।खेलअघि नेपालका प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले वरीयतामा माथि भए पनि राम्रो नतिजाकै लागि भियतनामसँग खेल्ने बताइसकेका छन् ।
उता भियतनाका प्रशिक्षक माई डुच चुङले पनि घरेलु टोली नेपालले महिला फुटबलमा प्रगगि गरिरहेको भन्दै कमजोर नआँक्ने बताएका छन् । भियतनामविरुद्धको खेलबाट नेपालको परिक्षण हुने थापाको बुझाइ छ । यस्तै कप्तान एन्जिलाले भियतनाम वरीयतामा माथि भए पनि मैदानमा जित्नकै लागि खेल्न उत्रने बताएकी छन् । यसपटक नेपाली टिममा चोटका कारण दुई नियमित सदस्य डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राई छैनन् ।
डिफेण्डर पुजा राना मगरले पुनरागमन गर्दा सिर्जना चेम्जोङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । फेब्रुअरीमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेपछि नेपाली टोली उत्साहित छ र टोलीमा आत्मविश्वास पनि बढेको प्रशिक्षक थापाले बताएका छन् ।
एसियाली छनोटको पहिलो चरणमा समूह सी मा नेपाल र भियतनामसहित चार टोली थिए । तर प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच दुई लेगको खेल हुन लागेको हो । दोस्रो खेल शनिबार हुनेछ । दुई खेलपछि स्पष्ट नतिजामा विजयी हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
यसअघि २०२० को टोकियो ओलम्पिकमा नेपाल पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणमा नेपालले भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेको थियो । तर दोस्रो चरणमा भने नेपाल म्यानमार भारतसँग नै पराजित भयो भने इन्डोनेसियाविरुद्ध जित निकालेको थियो ।