काठमाडौं – नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट क्लबसँग आधिकारिक सम्झौता गरेका हुन् । यसअघि २०२० मा भारतीय महिला लिग खेल्ने टुङ्गो लागे पनि कोभिड महामारीका कारण रेनुका, सरु लयागतका खेलाडीले भारतीय शिर्ष डिभिजनको लिगको अवसर गुमाएका थिए ।
यस पटक भने हालसम्म महिला लिगका लागि ४ जना खेलाडीले अनुबन्धता जनाइसकेका छन् । नेपाली महिला टिमकी उदयीमान फरवार्ड दीपा शाही लड्र्स एफसीसँग अनुबन्ध भइसकेकी छिन् भने सावित्रा भण्डारी पनि गोकुलम केरेलामा अनुबन्ध भइसकेकी छिन् । यसअघि नेपाली टिमकी मिडफिल्डर अनिता बस्नेतले पनि भारतीय महिला लिग खेलिसकेकी छिन् ।
भारतीय लिगमा पहिलो पटक खेल्न जान लागेका दुवै खेलाडी निकै उत्साहित रहेका छन् । ‘पहिलो पटक नेपाल बाहिर लिग खेल्न जान लाग्दैछौं । यसअघि कुरा टुङ्गो लागिसक्दा पनि कोभिडका कारण हामीले अवसर गुमाएका थियौं । अहिले पुन अनुबन्ध भएका छौं । म एकदमै उत्साहित छु । पहिलो पटकको भारतीय शिर्ष डिभिजनको लिगमा सहभागी हुन,’ रेनुकाले भनिन् ।
रेनुका नेपालको लागि लामो समयबाट मिडफिल्ड सम्हाल्दै आएकी छिन् । एन्जिला तुम्बापो सुब्बा अघि उनले नेपाली टिमको कप्तानी पनि सम्हाली सकेकी छिन् । पछिल्लो साफ च्याम्पियनसिप चोटका कारण गुमाएकी रेनुकाले भारतीय लिगका लागि आफू तयार रहेको बताइन् ।
सरु नेपाली महिला फुटबल टिमको मिडफिल्डमा बलियो पकड भएकी खेलाडी हुन् । उनले हाल नेपाली मिडफिल्डमा उत्कृष्ट प्रदर्शन देखाइरहेकी छिन् । अप्रिल २५ बाट सुरु हुने लिगमा १६ टिम सहभागी छन् । रेनुका र सरु भने अर्को हप्ता भारत प्रस्थान गर्नेछन् ।