काठमाडौं – राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ । भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साबिक विजेता मच्छिन्द्र फुटबल क्लब बिहीबार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको हो ।
यस्तै अर्को खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को सङ्घर्षपूर्ण जित निकाल्यो । एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर अन्तिम चार मिनेटमा अग्रता कायम राख्न नसक्दा हिमालयनले बलियो मच्छिन्द्रसँग अंक बाँड्न बाध्य भएको हो ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा अंक जोड्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले केही राम्रा अवसर बनाएपनि बललाई पोस्टको दिशा दिन असफल भएका थिए ।
अन्तिमतिर काउन्टरको प्रयास गरेको हिमालयनले निर्धारित खेल सकिन ४ मिनेट बाँकी रहँदा सत्यम शर्माले पेनाल्टीबाट अग्रता दिलाएका थिए । निशान लिम्बूको प्रहार मच्छिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
उक्त अवसरमा सत्यमले सहजै गोलमा परिणत गर्दा हिमालयनले अग्रता पाएको थियो । पछि परेसँगै खेलमा फर्किने प्रयासमा रहेको मच्छिन्द्रले इन्जुरी समयमा गोल गर्दै हारको संकट टा¥यो । विमल घर्ती मगरले गोल गर्दै टोलीको हारलाई बचाएका हुन् । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोड्दा मच्छिन्द्रको पनि समान खेलमा ६ अंक नै छ ।
लिग अन्तर्गत बिहीबार नै भएको अर्को खेलमा थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मीमाथि १–० को रोमाञ्चक जित निकाल्यो । थ्री स्टारलाई स्पस्ट अंक दिलाउने क्रममा फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो ।
च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टारले १७ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टरको प्रयास गरेको अवस्थामा अजाईले कप्तान विक्रम लामाले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए । त्यसपछि आर्मी खेलमा फर्किनका लागि निकै संघर्ष गरे पनि सफल हुन सकेन । यद्यपि दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।
राष्ट्रिय टोलीमा अटाएका खेलाडी भएपनि आर्मीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन र अंक सुम्पिन बाध्य बन्यो । यससँगै थ्री स्टारले ६ खेलबाट लिग तालिकामा १० अंक जोडेको छ । उता पराजय भोगेको आर्मीको समान खेलबाट ८ अंक छ । सातौँ चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मर्स्याङ्दी तथा आर्मीले चैत २६ गते सातदोबाटो युथ क्लवको सामना गर्नेछन् ।
लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र फ्रेण्ड्स क्लब तथा एन्फा मुख्यालयमा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।