काठमाडौं – खुट्टाको मेटाटार्सल हड्डी भाँचिएपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने भएका छन् । बिहीबार युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा सेभिल्लासँग २-२ ले बराबरी खेल्दा २५ वर्षीय खेलाडी घाइते भएका थिए । युनाइटेडले २–१ को अग्रता लिइरहँदा ८६ औं मिनेटमा मार्टिनेज घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिक टेन ह्यागको टोली १० खेलाडीमा सिमित बनेको थियो ।
मार्टिनेजका सेन्टर ब्याक पार्टनर राफायल भरान पनि घाइते भएका छन् । उनी पनि केही हप्ता बाहिर हुने अपेक्षा गरिएको छ। ‘म्यानचेस्टर युनाइटेडका सबैजनाले लिसान्ड्रो र राफालाई छिटो स्वास्थ्यलाभको लागि शुभकामना पठाएका छन्,’ क्लबले भनेको छ।
मार्टिनेज गत जुलाईमा आयाक्सबाट ५७ मिलियन पाउण्डको सम्झौतामा युनाइटेडमा आबद्ध भएका थिए । उनले यस सिजन युनाइटेडका प्रिमियर लिगका २७ खेल खेलेका छन्। अगस्त २०२१ मा रियल म्याड्रिडबाट क्लबमा आबद्ध भएका फ्रान्सेली डिफेन्डर भरानले यो सिजन २१ वटा लिगका खेल खेलेका छन्।