काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले आइतबार कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले वेनकाटेश अयेरको शतधक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
मुम्बईले १८६ रनको लक्ष्य १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितपछि १५ वर्षपछि कोलकताको खेलाडीले बनाएको शतक छायामा पर्यो । मुम्बईका नियमित कप्तान रोहित शर्माको सट्टा सूर्यकुमार यादवले कप्तानी गरेका थिए । दोस्रो इनिङ्समा रोहित इम्प्याक्ट प्लेअरको रुपमा ब्याटिङ गर्न आएका थिए ।
मुम्बईको लागि इशन किसनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए । कार्यवाहक कप्तान सूर्यले २५ बलमा ४३ रन जोडे । तिलक बर्माले पनि २५ बल खेल्दै ३० रन बनाए । रोहित शर्माले १३ बलमा २० रन बनाए । टिम डेविडले १३ बलमा अविजित २४ रन जोडे ।
कोलकताका लागि सुयास शर्माले २ तथा शार्दुल ठाकुर, वरुण चक्रवर्ती र लकी फर्गुसनले समान १ विकेट लिए । त्यसअघि वेनकाटेश अयेरले १०४ रन प्रहार गरेपछि कोलकताले ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेनकाटेशले ५१ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरे ।
रिंकु सिंहले १८ र शार्दुल ठाकुरले १३ रन जोडे । आन्द्रे रसेलले ११ बलमा ३ चौका १ छक्का प्रहार गर्दै अविजित २१ रन बनाए । मुम्बईका लागि ऋतिक शोकिनले २ तथा क्यामरुन ग्रीन, डुवान जानसेन, पियुष चावला र राइले मेरेडिथले समान १ विकेट लिए । चार खेल खेल्दा दोस्रो जित निकालेको मुम्बई ४ अंक जोडेर आठौं स्थानमा छ । पाँच खेल खेलिसकेको कोलकताको यो तेस्रो हार हो । ४ अंक नै रहेको कोलकता राम्रो रनरेटका आधारमा पाँचौ स्थानमा छ ।