काठमाडौं – कप्तान सन्जु सामसन र शिमरोन हेतमायरले आक्रमक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोएल्सले गुजरात टाईटन्सलाई तीन विकेटले पराजित गरेको छ । गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ३२ बलमा ३ चौका र ६ छक्का मदतमा सर्वाधिक ६० रन बनाए । हेटमायरले २६ बल खेल्दै २ चौका र ५ छक्का मदतमा अविजित ५६ रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए । यस्तै देवदत्त पडिकलले २५ बलमा २६ र ध्रुव जुरेल १० बलमा १७ रन बनाए ।
गुजरातका लागि मोहम्मद सामीले तीन, राशिद खानले २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान एक/एक विकेट लिए । त्यसअघि घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
गुजरातका लागि डेविड मिलरले ३० बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रनको बनाए । ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरी ४५ रन जोडे । अभिनव मनोहरले २७ र कप्तान हार्दिक पान्ड्याले २८ रन बनाए । राजस्थानका लागि सन्दीप शर्माले २ तथा एडम जाम्पा, ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
चौथो जितपछि राजस्थानले पाँच खेलबाट ८ अंक जोडेको छ र शीर्ष स्थानमा स्पष्ट अग्रता बनाएको छ । दोस्रो हार बेहोरेको गुजरात पाँच खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।