काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा संकटालाई जिताउन जुनियर एनकेन्गुएले निर्णायक गोल गरे । उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।
एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा जुनियरले गोल गरे । संकटा क्लबका गोलकिपर टिकेन्द्र थापा र एपीएफका खेलाडीको जर्सी रंग एउटै भएपछि यो खेल २६ मिनेट ढिला खेल सुरु भएको थियो । गोलकिपर थापाले पोलो टिर्सट लगाएर मैदान उत्रेपछि खेल सुरु भएको थियो ।
खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । संकटाका मनिष डाँगी र एपीएफका दिपेश धिमालले ६९औं मिनेटमा लगतार दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए । यस्तै संकटाका आन्द्रे थियरी बिकिबकले ७६औं मिनेटमा रातो कार्ड पाएका थिए ।
यस सिजन चौथो जित निकालेको संकटा ९ खेलबाट १५ अंक जोडेको तेस्रो स्थानमा उक्लेको छ । मनाङ मर्स्याङ्दी समान अक भए पनि गोलअन्तरमा संकटा अघि छ । ९ खेलबाट ११ अंक रहेको एपीएफ नवौँ स्थानमै छ ।