काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले बिहीबार सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ । यस सिजन अपराजित एक्लो टिमको रुपमा रहेको चर्च ब्वाइजले लगातार ६ बराबरीपछि पहिलो खेल जितेको हो ।
नवप्रवेशी चर्च ब्वाइजले सुरुवाती ३ खेल जित्दै लिगमा शानदार सुरुवात गरेको थियो । तर त्यसपछिका खेलमा भने चर्च ब्वाइजले लगातार बराबरी खेलेको थियो । सातदोबाटोलाई हराएपछि चर्च ब्वाइज फेरि जितको बाटोमा फर्केको छ ।खेलको सातौं मिनेटमै आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा सातदोबाटोका निरज चौधरीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दवस्रो हाफमा चर्च ब्वाइजले एक गोल थप्दै ३ अंक जोडेको हो । दोस्रो हाफको पहिलो मिनेटमै चर्च ब्वाइजका मिलन राईले गरेको गोल निर्णायक बन्यो । जितपछि चर्च ब्वाइज १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । १० खेलबाट १७ अंक रहेको सातदोबाटो चौथो स्थानमा झरेको छ ।