काठमाडौँ – कीर्तिमानै कीर्तिमान बनेको खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो ।
कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो । यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो । जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । खराब सुरुवात, तर कुशलको रेकर्ड आफ्नो ५०औं ओडीआईमा नेपालको सुरुवात निकै खराब थियो ।
ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता नै खोल्न सकेको थिएन । कुशल भुर्तेललाई तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा पारे भने आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा बल्ल रनको खाता खोलेको थियो ।
तर ०–२ को अवस्थाबाट ३१०/८ मा इनिङ सकायो, जुन आफैंमा रेकर्ड हो । यसक्रममा कुशल मल्लले करियरको पहिलो शतक बनाए । त्यसअघि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भए ।
भीम पनि २०औं ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले व्यक्तिगत ३३ रन जोडेका थिए । नेपालको स्कोर ७२/४ रहेको बेला क्रिजमा पुगेका कुशलले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए । कुशल भने क्रिजमा जमिरहे ।
१९ वर्षीय कुशलले ३९औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे । ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०० रन पूरा गरेका उनी नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिकेटर बने । साथै ओडीआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बने । उनीभन्दा पहिले पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए ।
२०२० मा लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ल ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् । थप ८ रन जोडेर उनी आउट भए, जतिबेला नेपालको स्कोर २२१ रन थियो । त्यसपछि सोमपालले आक्रामक पारी खेले ।
सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालले कीर्तिमान स्कोर बनायो । सोमपालले ६३ र करण २९ रन अविजित रहे । ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।
सन्दीपको विश्व कीर्तिमान
३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।
यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए ।ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए । अर्धशतकबाट ४ रनले चुकेका गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ९ ओभरमा १ मेडन राख्दै २२ रन मात्र खर्चेर १ विकेट लिए ।