काठमाडौं – एफएकपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब युनाइटेड र सिटी भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीसँग फाइनल भेट पक्का गरेको हो । सिटीले पहिलो सेमिफाइनलमा शेफिल्ड युनाइटेडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
लण्डनस्थित वेम्ली स्टेडियममा भएको खेलमा युनाइटेड र ब्राइटनले निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । युनाइटेडका सातै खेलाडीले पेनाल्टी प्रहार गोलमा परिणत गर्दा ब्राइटनका एक खेलाडी चुके ।
युनाइटेडका भिक्टोर लिन्डेलोफले निर्णायक पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । त्यसअघि ब्राइटनका लागि अन्तिम प्रहार गरेका सोली मार्चको पेनाल्टी प्रहार बारमाथि गएको थियो । युनाइटेड र सिटीबीचको फाइनल खेल आगामी जुन ३ मा वेम्वलीमा हुनेछ ।