काठमाडौँ – एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ ।
तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो । पहिलो चरणको छनोटमा सहभागि टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका विजेता मात्र छनोटको दोश्रो चरणमा प्रवेश गर्नेछ । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू-१७ महिला एसियन कपमा स्थान बनाउनेछ । आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।