काठमाडौँ – नेपाल र भारतबीच दृष्टिविहीन महिला टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा विनिता पुनले सानदार शतक प्रहार गरेपछि नेपालले भारतलाई ९ विकेटले पराजित गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
जवाफमा विनिताले अविजित १२६ रन बनाएपछि नेपालले २० ओभरमा १ विकेट गुमाएर २१७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । ओपनर विनिताले ६७ बल खेल्दै १९ चौका प्रहार गरिन् । विनिताले पहिलो खेलमा पनि शतक प्रहार गरेकी थिइन् ।
यस्तै अर्की ओपनर मनकेशी चौधरीले ५६ बलमा ३ चौका प्रहार गर्दै ६५ रन बनाइन् । मुना अर्याल ४ रनमा अविजित रहिन् । त्यसअघि भारतका कप्तान सुस्मा पटेल र सिमु दासले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान सुस्माले ५१ बलमा ५ चौका प्रहार गर्दै अविजित ६३ रन बनाइन् । यस्तै सिमुले आक्रमक ब्याटिङ गर्दै १८ बलमा ३ चौका मदतमा अविजित ४६ रन बनाइ ।
गंगाले २४ बलमा ५ चौका प्रहार गरी ३९ रन बनाइन् । बसन्ती हन्स्दाले २३ रन बनाइन् । नेपालकी निशा चौधरीले १ विकेट लिँदा भारतका चार खेलाडी रनआउट भए । जितपछि नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएका छन् । यसअघि पोखरामा भएको दुई खेलमा दुवै टोलीले एक एक खेल जितेका थिए ।