काठमाडौं – प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको रोमाञ्चक खेलमा लिभरपुलले टोटनहमलाई ४-३ ले पराजित गरेको छ । यस जितपछि टोटनहमलाई नै पछि पार्दै लिभरपुल पाँचौ स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले १५ मिनेटभित्रै तीन गोल गरेको थियो । तर टोटनहमले पुनरागमन गर्दा तीन गोल फर्काएपछि डिएगो जोटाले इन्जुरी टाइममा निर्णायक गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए ।
खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । १५औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । तीन गोलले पछि परेको टोटनहमका लागि ३९औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेलमा फर्काए । ७७औं मिनेटमा टोटनहमका हेउङ मिन सनले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
टोटनहम यतिमै रोकिएन । इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरेपछि खेल ३-३ को रोमाञ्चक अवस्थामा पुग्यो । तर इन्जुरी टाइमको चौथो मिनेटमा जोटाले गोल गरेपछि लिभरपुल ४-३ ले विजयी भयो । जितपछि लिभरपुलले ३३ खेलबाट ५६ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । ३४ खेलबाट ५४ अंक रहेको टोटनहम छैटौ स्थानमा झरेको छ ।