काठमाडौं – आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले प्रिमियर लिगको उपाधि होड नसकिएको र सिजनकै राम्रो हिस्सा आउन बाँकी नै रहेको बताएका छन् । यो सिजन २४७ दिन लिगको शीर्ष स्थानमा रहेको आर्सनल आइतबार म्यानचेष्टर सिटीसँग ४–१ ले पराजित भएको थियो, जसका कारण उपाधि होड उनको हातबाट फुस्किएको छ ।
पछिल्लो चार खेलमा जितविहीन रहेको आर्सनलले मंगलबार चेल्सीसँग घरेलु मैदानमा खेल्ने तालिका छ । यो खेलबाट क्लबलाई फेरि जितको लयमा फर्काउन चाहेका प्रशिक्षक अर्टेटा भन्छन्, ‘हामीले अझै प्रिमियर लिग जित्न सक्छौं किनकी अझै ५ खेल बाँकी छ र धेरै कुरा हुनेवाला छ ।’ उनलाई थाहा छ, सबैथोक आर्सनलको हातमा छैन । भन्छन्, ‘सबथोक हाम्रो हातमा छैन । हाम्रो हातमा के छ भने बाँकी सबै खेल जित्न कोसिस गर्ने र बाँकी सिटीलाई छाडिदिने ।’
आफ्नो टिमका खेलाडीहरुमा पनि जितको भोक रहेको भन्दै उनले पछिल्लो साता जे भयो, त्यसलाई भुलेर आगामी खेलमा केन्द्रित हुनुपर्ने बताएका छन् । आर्सनलले २००४ पछि प्रिमियर लिगको उपाधि जितेको छैन । तर यो सिजन लोभलाग्दो प्रदर्शन गरेको आर्सनलले २०१६/१७ को सिजनपछि पहिलो पटक अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।