काठमाडौं – शहीद स्मारक एडिभिजन लिगमा लगातार हारको नतिजापछि मनाङ मर्स्याङ्दी क्लबका प्रमुख प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । क्लबका अध्यक्ष विजय घलेले प्रमुख प्रशिक्षकबाट श्रेष्ठले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको पुष्टि गरे । नयाँ प्रशिक्षक नियुक्तिका लागि सोमबार साँझ क्लबका पदाधिकारीबीच छलफल हुने अध्यक्ष घलेले अनलाइनखबरलाई बताए ।
मनाङले गत माघमा आहा रारा गोल्डकप सुरु हुनुअघि मनाङले राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनको प्रशिक्षणमा मनाङले तिलोत्तमा गोल्डकपको उपाधि जितेको थियो । अधिकांश युवा तथा फुटसलबाट आएका खेलाडीलाई समेटेर टिम निर्माण गरेको मनाङले फागुनदेखि ए डिभिजन लिग सुरु गरेको थियो ।
सुरुवाती ७ खेलबाट १५ अंक जोडेको मनाङ त्यसयता लगातार ६ खेलमा पराजित भएको छ । लिगमा अहिलेसम्म भएका १३ मध्ये ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित मनाङ अंकतालिकाको दशौं स्थानमा छ । मनाङ रेलिगेसन क्षेत्रबाट मात्र २ अंकले अगाडि छ ।
ए डिभिजन लिग इतिहासमा सबैभन्दा धेरै ८ पल्ट लिग जितेको मनाङको खराव लय नै पशिक्षक राजीनामाको मुख्य कारण हो । डवल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको लिगको पहिलो चरण सकिएको छ । दोस्रो चरणको खेल मंगलबारदेखि सुरु हुँदैछ ।