जावलाखेललाई हराउदै पुलिसले छाड्यो रेलिगेसन जोन

Byekhel

२० बैशाख २०८०, बुधबार २० बैशाख २०८०, बुधबार २० बैशाख २०८०, बुधबार

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चौथो जितपछि पुलिसले रेलिगेसन जोन छाडेको छ ।

पुलिसको जितमा मोसेस ट्वाम र अहमद हिजाजीले गोल गरे । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । खेलको ३५ औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । अघिल्लो खेलमा दुई गोल गरेका हिजाजीले ८८ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।

जावलाखेलका लागि ८९औं मिनेटमा विपिनले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
यस सिजन चौथो जितपछि पुलिस रेलिगेसन क्षत्रेबाट माथि उक्लेको छ । १४ खेलबाट १५ अंक जोड्दै पुलिस १०औं स्थानमा उक्लेको हो । पहिलो चरणमा ११ औं स्थानमा रहेको पुलिस त्यसपछि दोस्रो चरणदेखि १३औं चरणसम्म अन्तिम स्थानमा थियो ।

विदेशी खेलाडी टिममा समावेश गरेपछि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विदेशी खेलाडीको आगमनपछि लिगमा पुलिसको यो लगातार तेस्रो जित हो । यसअघि पुलिसले मनाङ मर्स्याङ्दी र खुमलटार एफसीलाई हराएको थियो । लिग लिडर जावलाखेलले भने हारपछि अंकदूरी बढाउने अवसर गुमाएको छ ।

लिगमा चौथो हार बेहोरेको जावलाखेलको १४ खेलबाट २४ अंक छ । अर्को खेलमा दोस्रो स्थानको थ्री स्टारले खुमलटार एफसीसँग बराबरी खेलेपछि जावलाखेल शीर्ष स्थानमै छ ।

By ekhel