काठमाडौं – फ्रेण्ड्स क्लबसँग पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जितका साथ चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा चर्च ब्वाइजलाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको अन्तिम चार मिनेटमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे ।
१४औं मिनेटमै विदेशी डिफेण्डर बेन नास क्वान्साको गोलमा अघि बढेको फ्रेण्डस् अन्तिम समयमा सम्हालिन सकेन । चर्च ब्वाइजका लागि ८६औं मिनेटमा अन्जनले गोल गरी खेल बराबरीमा ल्याए । आशिषले ९०औं मिनेटमा विजयी गोल गरे ।
१४औं चरणको खेलमा ३ अंक थपेर चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । समान १४ खेलबाट शीर्ष स्थानको जावलाखेलसँगै २४ अंक भए पनि गोलअन्तरमा चर्च ब्वाइज पछि परेको हो । १४औं चरणको खेलमा जावलाखेलले मंगलबार नेपाल पुलिससँग पराजय ब्यहोरेको थियो ।