काठमाडौं – अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने निश्चित भएको छ। क्लबको अनुमतिबिना साउदी अरेबिया पुगेपछि दु साताका लागि निलम्बित उनले जारी सिजनको अन्त्यसँगै पीएसजी छाड्ने पक्का भएको चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेका छन्।

दुई दिनअघि परिवारसहित साउदी अरेबिया पुगेका उनलाई पीएसजीले बुधबारदेखि दुई साताका लागि निलम्बन गरिसकेको छ। मेस्सी साउदी अरेबियाका पर्यटन दूत पनि हुन्। उनी दुई वर्षअघि स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी गएका थिए। तर उनले त्यहाँ अन्य स्टार खेलाडीहरू किलियन एम्बाप्पे र नेयमारसँग मिलेर पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्।

लियोले क्लब छाड्न सक्ने संकेत उनका बुवा जोर्गेले एक महिनाअघि नै गरिसकेका थिए। उनले उक्त कुराबारे पीएसजीसँग पनि छलफल गरेका थिए। मेस्सी अचानक साउदी अरेबिया पुगेसँगै पीएसजीसँगको उनको सम्बन्ध अब सकिएको अनुमान गरिएको छ।

मेस्सीले पीएसजी छाड्ने भएपछि उनलाई भित्र्याउन बार्सिलोनाले पहल थालेको छ। तर उसलाई आर्थिक व्यवस्थापन ठूलो चुनौती बनेको छ। यदि बार्साले मेस्सीलाई फेरि ल्याउने हो भने झन्डै आधा दर्जन खेलाडी बेचेर रकम जुटाउनु पर्ने हुन सक्छ। मेस्सीले पीएसजी छाड्ने हुँदा अर्को सम्भावित गन्तव्य साउदी अरेबिया र अमेरिका हो। तर उनी बाल्यकालदेखि खेलेको बार्सिलोना नै फर्किने मुडमा रहेको बताइन्छ।

By ekhel