काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग २–१ ले पराजित भएपछि नेपाल पुलिस क्लब पुनः रेलिगेसन क्षेत्रमा पुगेको छ । दशरथ रंगशालामा शुक्रबार शेर्पाले महत्वपूर्ण तीन अंक जोड्ने क्रममा विदेशी खेलाडी अवायोमी ओलुवासेउन र अमृत श्रेष्ठले गोल गरे ।
अवायोमीले १४औं मिनेटमा शेर्पालाई अग्रता दिलाए पनि ३०औं मिनेटमा सौजन राईले बराबरी गोल गरी पुलिसलाई खेलमा फर्काएका थिए । तर, दोस्रो हाफको सुरुमै अमृत श्रेष्ठले शेर्पालाई अग्रता दिलाए । बाँकी समयमा दुवै टिमले गोलका केहि अवसर उपयोग गर्न सकेनन् ।
यो जितपछि शेर्पा १५ खेलबाट २० अंकसहित सातौं स्थानमा उक्लिएको छ । उसले लिगमा अहिलेसम्म ५ जित, ५ बराबरी र ५ हारको नतिजा निकालेको छ । लिगमा आठौं हार ब्यहोरेको पुलिसले पछिल्ला चार खेलमा लयमा फर्किएको संकेत गरेको थियो ।
विदेशी खेलाडी ल्याएसँगै उसले पछिल्लो तीन खेलमा लगातार जित हासिल गरेको थियो । १५ खेलमा ४ जित, ३ बराबरी र ८ हारसहित १५ अंकका साथ पुलिस पुछारबाट दोस्रो स्थानमा छ । एक खेल कम खेलेको फ्रेण्ड्ससँग समान १५ अंक भए पनि हेड टू हेडमा पुलिस अगाडि रहेको हो ।
लिगमा शनिबार तीन खेल हुँदैछ । च्यासल मैदानमा एनआरटी र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा मनाङ मर्स्याङदी र सातदोवाटो भिड्नेछन् । साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा ललितपुरे क्लबहरु फ्रेण्ड्स र थ्रीस्टार आमने सामने हुँदैछन् ।