ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल पराजित

Byekhel

२३ बैशाख २०८०, शनिबार २३ बैशाख २०८०, शनिबार २३ बैशाख २०८०, शनिबार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा शुक्रबार भएको खेलमा स्टेफन समिरको ह्याट्रिक सहयोगमा एफसी खुमलटारले जावलाखेललाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

स्टेफले खेलको २०औं मिनेटमा पहिलो गोल गरेका थिए । खुमलटारकै रोहित सुब्बाले ४३औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा खेल १–१ को बराबरीमा आयो । तर, पहिलो हाफकै इन्जुरी समयमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गरी ब्रेकअघि टिमलाई २–१ ले अघि बढाए । दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमै स्टेफनले ह्याट्रिक गोल पूरा गरे ।

खेलको इन्जूरी समयमा दुवै टिमले १–१ गोल गर्न सके । पाँच मिनेट थपिएको समयको तेस्रो मिनेटमा विपिन कँडेलको गोलमार्फत जावलाखेलले अन्तर कम गर्ने प्रयास गरेको थियो ।
तर, दुई मिनेटपछि मेसुके ओलोमोउले गोल गरी टिमलाई ४–२ को जित निश्चित गराए । यो जितपछि खुमलटारले रेलिगेसन क्षेत्र छाडेको छ ।

दशौं स्थानमा पुगेको खुमलटारको १५ खेलबाट ५ जित र २ बराबरीसहित १७ अंक भएको छ । जावलाखेलका लागि भने यो हारले लिगको शीर्ष स्थान गुमाउने जोखिम रहन्छ । १५ खेलबाट २४ अंकसहित जावलाखेल अहिलेसम्म शीर्ष स्थानमै छ ।

तर, समान २४ अंक भए पनि दोस्रो स्थानमा रहेको चर्च ब्वाइज तथा २३ अंकका साथ तेस्रो स्थानमा रहेको थ्रीस्टारले एक खेल कम खेलेका छन् । रेलिगेसन क्षेत्रतिर संघर्षरत नेपाल पुलिस र हिमालयन शेर्पाबीचको खेल अहिले दशरथ रंगशालामा जारी छ ।

By ekhel