काठमाडौं – नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् । साविधाको चार गोल मद्तमा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो ।
अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले दुवै हाफमा समान दुई गोल गरिन् । उनले खेलको पहिलो हाफमा सातौं र १२औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि ६८औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेकी उनले ६९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।
६ मध्ये पाँच खेलमा गोल गरेकी सावित्राले कुल १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । उनी दोस्रो स्थानकी काजल डे सुजा भन्दा १० गोलले अघि छिन् । काजलले ९ गोल गरेकी छन् । गोकुलम केरलालका लागि इनुदमथिले दुई तथा शिल्की देवी, डांगमाई ग्रेस र रन्जना चानुले पनि समान एक गोल गरे ।
समूह ए मा पाँचौ जित निकालेको गोकुलम केरालाले एक खेल अगावै क्वाटरफाइनलमा स्थानसमेत पक्का गरेको छ । ६ खेल खेल्दा ५ जित र १ बराबरिबाट १६ अंक जोडेको गोकुलम केरला समूह ए को शीर्ष स्थानमा छ । सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग लिग खेलाइएको छ ।
जहाँ दुवै समूहको शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टिमकी अर्की सदस्य रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा छ । रेखाले अहिलेसम्म चार गोल गरेकी छन् ।