काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले १-१ को बराबरी खेलेका छन् । अवे मैदानमा प्राप्त बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ । साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ ।
प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ । रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको सानदार गोलमा खेल बराबरी गरेको थियो । घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।