काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । छैटौं जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।
घरेलु मैदान वाङखडे स्टेडियममा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । सूर्य कुमारले ३५ बल खेल्दै ७ चौका र ६ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ५२ रन बनाउने क्रममा ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे । बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो । बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए । डु प्लेसिसले ४१ बलमा ६५ रन जोडे ।
१६ रनमै दुई विकेट गुमाएको बेंगलोरका लागि म्याक्सवेल र डु प्लेसिसले १२० रनको साझेदारी गरेका थिए । दिनेश कार्तिकले ३० रन बनाए । मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १ विकेट लिए ।