राजस्थान ५९ रनमा अलआउट, बेंगलोर ११२ रनले विजयी

Byekhel

१ जेष्ठ २०८०, सोमबार १ जेष्ठ २०८०, सोमबार १ जेष्ठ २०८०, सोमबार

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । बेंगलोरले भने प्लेअफ सम्भावना कायम राखेको छ ।

बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । १३ खेलबाट १२ अंक रहेको राजस्थान छैटौं स्थानमा छ । राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । बेंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ५५ रन बनाए ।

उनले ४४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर् । यस्तै ग्लेन म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छ्कका प्रहार गर्दै ५४ रन बनाए । विराट कोहलीले १८ रन बनाए । अनुज रावतले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित २९ रन बनाए । राजस्थानका एडम जाम्पा र केएम आसिफले समान २ विकेट लिए ।

१७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमै ५९ रनमा अलआउट भयो । राजस्थानका लागि शिमरन हेतमायरले सर्वाधिक ३५ र र जो रुटले १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानलाई अलआउट गर्न बेंगलोरका वायने पार्नेलले २ तथा माइकल ब्रेसवेल र कर्ण शर्माले समान २ विकेट लिए । मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

By ekhel