काठमाडौं – शुभमन गिलको पहिलो शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । गएरातिको यस जितपछि गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको छ । १३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले शीर्ष दुईमा रहने पक्का छ र सिधै क्वालिफायर खेल्नेछ ।
उक्त खेल जितेमा गुजरात सिधै फाइनल पुग्नेछ । गजरातले अब लिगमा बेंगलोरसँग खेल्न बाँकी छ । आठौं हार बेहोरेको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
टिमले रनको खाता नखोल्दै ओपनर ऋद्दिमन शाहलाई गुमाए पनि गिले साई सुदर्शनसँग मिलेर १४७ रनको साझेदारी गरे । गिलले ५८ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा १०१ रन बनाए । साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरी ४७ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए ।
१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन बनाए । भुवनेश्वर कुमारले २७ रन जोडे । गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै मोहित शर्माले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए ।