काठमाडौं – विराट कोहलीको शतकलाई छायामा पार्दै शुभमन गिलले पनि शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा सोमबार राति गुजरात टाइटन्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हरायो ।
प्लेअफ पुग्न बेंगलोरलाई यो खेल जित्नैपर्ने थियो । तर १९७ रन बनाउँदा पनि पराजित भएपछि बेंगलोर शीर्ष चारमा पुग्न सकेन र लिगबाट बाहिरियो । यसको फाइदा मुम्बइ इन्डियन्सलाई भयो । सोमबारै पहिलो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको मुम्बइ लिगमा चौथो बन्दै प्लेअफप पुग्यो ।
यसअघि नै शीर्ष स्थान पक्का गरिसकेको साविक विजेता गुजरातले लिगमा यस सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ मध्ये १० खेल जित्दै सर्वाधिक २० अंक जोड्यो । गुजरातले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा दोस्रो स्थानको चेन्नाइ सुपर किंग्ससँग खेल्नेछ । यस्तै तेस्रो भएको लखनउ सुपर जायन्ट्स र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ ।
युवा ब्याटर शुभमन गिलले सानदार शतक प्रहार गरेपछि गुजरातले १९८ रनको लक्ष्य ५ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो । ओपनर गिलले ५२ बल खेल्दै ५ चौका र ८ छक्का मदतमा अविजित १०४ रन बनाए । यस सिजन यो उनको दोस्रो शतक हो ।
गिलले दोस्रो विकेटका लागि विजय शंकरसँग १२३ रनको साझेदारी गरे । विजय शंकरले ३५ बलमा ५३ रन जोडे । गुजरातले १९ अंक अतिरिक्तबाट पाएको थियो । बेंगलोरका मोहम्मद सिराजले २ तथा विजयकुमार व्यासक र हर्शल पटेलले समान एक/एक विकेट लिए ।
घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले कोहलीको अविजित शतक मदतमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । जारी सिजन कोहलीले पनि दोस्रो शतक प्रहार गरेका हुन् । समग्रमा उनले आईपीएलमा सर्वाधिक ७ शतक प्रहार गरे । तर टिमलाई जिताउन पर्याप्त भएन ।
कोहलीले ६१ बल खेल्दै १३ चौका र एक छक्का मदतमा अविजित १०१ रन बनाए । यस्तै कप्तान फाप डु प्लेसिसले २८ र माइकल ब्रेसवेलले २६ रन जोडे । अनुज रावतले १५ बलमा अविजित २३ रन बनाए । गुजरातका नुर अहमदले २ तथा मोहम्मद शामी, यश दयाल र रासिद खानले समान एक विकेट लिए ।