काठमाडौं – नेपाली महिला भलिबल टिमले काभा वुमन्स् च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।तुलनात्मक रुपमा कमजोर किर्गिस्तानमाथिको जित अपेक्षित नै थियो । तर यो खेलले नेपाललाई आफ्नो कमजोर चिन्ने अवसर भने दिएको छ ।

दुई पटकको डिफेन्डिङ च्याम्पियन नेपालले आफ्नो खेलमा उल्लेख्य सुधार नगरे दक्षिण एसियाकै जायन्ट भारतसँग खेल्न मुस्किल हुने देखिन्छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपाल सर्भिस र रिसिभमा चुक्यो । खेलअघि धेरै प्रश्न उठेको ओपन स्पाइक (आउटसाइड स्पाइक) मा उषा भण्डारी र निरुता ठगुन्नाको जोडीले मन जित्यो ।

नेपालको ओपनस्पाइकमा प्रतिभा माली र सरस्वती चौधरीको जोडी राम्रै जमेको थियो । तर प्रतियोगिता सुरु हुनु अघि नै प्रतिभा घाइते भइन् भने सरस्वतीलाई पनि अभ्यासको दौरान चोट लागेकाले नेपाल दबावमा थियो । उषा र निरुताको जोडीले सहजरूपमा त्यो जिम्मेवारी सम्हाले ।

By ekhel